सोमवार, जेष्ठ ७, २०८१

नक्कली सुन देखाई ७ लाख ७५ हजार ठगी गर्ने ५ जना पक्राउ

भक्तपुर माघ २८
नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिन बहादुर लामा, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ बस्ने ४८ वर्षीय जित बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-५ घर भई काठमाडौं मुलपानी बस्ने ३१ वर्षीय मिलन भन्ने दावा दुण्डुप तामाङ रहेका छन् ।

रामेछाप दोरम्बा गाउँपालिका-४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया  महिलालाई १ केजी सुन छ लगानी गर्नुपर्‍यो बेचेर भागबण्डा गरौंला नाफा हुन्छ भनि सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारी पीडितबाट ७ लाख ७५ हजार रूपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त ठगीमा संलग्न उनीहरूलाई भक्तपुर बोडेबाट पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये छुल्टीम लामा, राजेन्द्र तामाङ, चिन बहादुर लामा र जित बहादुर तामाङलाई शुक्रबार र दावा दुण्डुप तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी छुल्टीमको साथबाट नगद १ लाख २२ हजार रूपैयाँ र मोबाइल थान, राजेन्द्रको साथबाट नगद १४ हजार रूपैयाँ र मोबाइल २ थान, चिन बहादुरको साथबाट नगद ८६ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान, जित बहादुरको साथबाट नगद ७४ हजार रूपैयाँ र मोबाइल २ थान तथा दावा दुण्डुपको साथबाट मोबाइल १ थान बरामद भएको प्रहरीले जनाउँदै यस सम्बन्धमा प्रहरीले आवश्यक थपअनुसन्धान गरिरहेको जनाएके छ ।