सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयन गर्ने प्रधानमन्त्रीको उद्घोष

 काठमाडौं माघ २८,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारमुक्त समाज निर्माण गर्नका लागि सबै क्षेत्रलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिै सार्वजनिक तथा निजी क्षेत्रमा सदाचारिताको आधार विकास गर्न ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताउनुभएको छ ।

 त्यस्ते सम्बोधनको क्रममा सरकारले संविधानको कार्यान्वयन र सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना तथा भ्रष्टाचार नियन्त्रणलगायत समग्र शासकीय सुधारका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढेको जानकारी दिदै प्रधानमन्त्रीले “हाम्रा पारिवारिक र सामाजिक संरचनामा सदाचारी संस्कारको प्रवर्द्धनसंगै “सार्वजनिक निकायहरूमा पारदर्शिता र जन उत्तरदायित्वको संस्कार विकास गर्न ढिलाइ भइसकेको बताउनुभयो ।

“मूलतः जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता आधारभूत सेवादेखि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, लगायत प्रशासनिक सेवामा सरलता, शीघ्रता, सुलभता र पारदर्शिता कायम गर्न सरकार निकै संवेदनशील भई क्रियाशील छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको छ, ल्याउँछ ।

सार्वजनिक सेवा प्रवाहमा देखिएका विकृति, विसंगति, ढिलाइ, अनियमितता नियन्त्रण गरी जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारी जग्गा हडप्ने, व्यक्तिगत नाममा कायम गर्नेहरूलाई छानविन अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले क्रिप्टोकरेन्सी कारोबारी, हुन्डी कारोबारी, सुनतस्कर र सहकारीलगायत क्षेत्रमा भएका ठगीलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०२३ को प्रतिवेदनले समेत गत वर्षभन्दा भ्रष्टाचार सूचकाङ्कमा दुई स्थानले सुधार भएको देखाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा गरिरहेको सक्रियता र प्रतिबद्धता व्यावहारमा देखिएको बताउनुभयो ।

भ्रष्टाचार देशको विकासको बाधक बनेको छ । यसले सामाजिक संरचनामा वर्गीय खाडल पैदा गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसको निराकरणका लागि राज्यका जिम्मेवार निकायहरूको निष्पक्ष क्रियाशिलता, अग्रसरता र जनतामा भ्रष्टाचारविरोधी साझा चेतनाको विकास हुन जरूरी  रहेको  बताउँदै दिगो शान्ति, विकास, सुशासन र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्नका लागि सबैले सभ्य समाज निर्माणमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले थप ऊर्जा र क्रियाशीलताका साथ भ्रष्टाचार विरूद्ध सक्रिय रहन सबैलाई अपिल गर्नुभयो ।