सोमवार, जेष्ठ ७, २०८१

असंलग्न आन्दोलनको शिखर सम्मेलनमा सहभागी भएर आज प्रधानमन्त्री स्वदेश फर्कंदै

 काठमाडौं माघ ७,

प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन नामको १९औं शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किंदै छन् ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई सम्बोधन गरेका थिए । उनले गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीसहित सहभागी राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा अन्य उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

शुक्रबार र शनिबार भएको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली बिहीबार युगान्डा गएको थियो । दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटा, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी भएर अहिले ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ ।

राति पौने ३ बजे प्रधानमन्त्री दाहाल चढेको विमान कतारको दोहा अवतरण भएको र ९ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।