सोमवार, जेष्ठ ७, २०८१

सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतपत्र पुग्यो : आयोग

काठमाडौं माघ ५,

निर्वाचन आयोगले आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक स्वीकृत मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका मतपत्र छापाइ पछि सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पुर्याउने कार्य सम्पन्न भएको जनाएको छ।

यस निर्वाचनबाट ६ वर्षे पदावधिका लागि निर्वाचित हुने राष्ट्रियसभा सदस्यहरुको निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था रहेको छ ।

त्यस्तै प्रस्तुत निर्वाचनमा प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरु रहेको आयोगले जनाएको छ।

प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरु छपाइ गरी प्रदेशमा पुर्याएको हो।

त्यसैगरी, लुम्विनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरु रहेको पनि आयोगले जनाएको छ।