सोमवार, जेष्ठ ७, २०८१

विज्ञान, प्रविधि र नवप्रर्वन’ मा नामले उच्च प्राथमिकता दिनुपर्छ:प्रधानमन्त्री प्रचण्ड

नाम’ को १९ औँ शिखर सम्मेलनकम प्रम प्रचण्डको सम्बोधन: 

कम्पाला माघ ५ ,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा ‘गेम चेन्जर’का रूपमा देखा परेका ‘विज्ञान, प्रविधि र नवप्रर्वन’ मा असम्लग्न आन्दोलन ९नाम० ले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले , “विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न ‘नाम’ ले ‘विज्ञान, प्रविधि र नवप्रर्वन’ उच्च प्राथमिकता दिनुपर्छ ।”

‘नाम’ का धेरै सहयात्री देशहरूले सामाजिक–आर्थिक र प्राविधिक विकासमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उत्तर–दक्षिण र त्रिपक्षीय सहकार्यका साथै दिगो विकासका लागि साधन र स्रोतको कमी न्यूनीकरण गर्न दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वव्यापीकरण विश्वास गरिए अनुरुप अगाडि नबढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसले आयमा असमानता र थोरै मानिसहरू र थोरै देशरूको हातमा सम्पत्ति केन्द्रित गरेको उल्लेख गर्नुभयो । उहाँले विश्वव्यापीकरणबाट आधा मानवलाई समृद्धिको यात्राबाट बहिष्करणमा पारिएको उल्लेख गर्दै त्यसलाई विकसित विश्वले बुझ्नुपर्छ भन्नुभयो । ‘नाम’ले दिगो विकासका लागि सन् २०३० को मुद्दा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत विकासका लक्ष्यहरूको समयमै उपलब्धिमार्फत दक्षिण विश्वको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

नामले संयुक्त राष्ट्रसङ्घका साथै विश्वव्यापी वित्तीय संरचना र व्यापारिक व्यवस्थालाई विकासशील देशहरूको आवश्यकताप्रति उत्तरदायी बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ हाम्रा बहुपक्षीय संस्थाहरू समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्छ, जसले गर्दा वहुआयामिक विश्वव्यापी समस्याहरूको समाधान गरी दिगो शान्ति र साझा समृद्धि सुनिश्चित गर्न सहयोग गर्छ ।”  बढ्दो द्वन्द्व, गरिबी, भोकमरी, असमानता र अनेकौँ समस्याले निम्त्याएका विकासका साझा चुनौतीहरूलाई सम्बोधन गर्न ‘नाम’ ले नेतृत्व गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड रहेको थियो ।

सम्बोधनकै क्रममा प्रधानमन्त्री प्रचण्डले साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको विनाशकारी प्रभाव कारण दरलाग्दो दरमा घट्दै गएको हिमनदीहरूका स्वरुप र यसले अरबौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाको आफूहरु शाक्षी रहेको बताउनुभयो ।

त्यस्तै उहाँले असम्लग्नताको मूल्य र सिद्धान्तप्रति हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुपर्ने बताउँदै साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गर्नुपर्नेमा जोड दिदै कसैलाई पनि पछि नछोडी न्यायपूर्ण, समतामूलक, शान्तिपूर्ण, दिगो र समृद्ध विश्व निर्माण गर्न ‘नाम’ लाई बलियो बनानुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले समबोधनैकै क्रममा मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताउनुभयो ।

त्यस्तै विश्वको ६० प्रतिशतभन्दा बढी राष्ट्रसङ्घका सदस्य, विश्वका आधाभन्दा बढी जनसङ्ख्या र संयुक्त राष्ट्रसङ्घपछि सबैभन्दा बढी प्रतिनिधि रहेको यस संस्थाले विश्व शान्ति र सुरक्षाको लागि उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदै सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्नुपर्ने अभिव्यक्ति दिनुभयो ।

साथै नेपालले सार्वभौम समानता, आपसी सम्मान, पारस्पारिक लाभ र विवादको शान्तिपूर्ण समाधानमा आधारित सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले असम्लग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक रहेको बताउनुभयो ।