सोमवार, जेष्ठ ७, २०८१

स्वदेशी औषधि उत्पादनको प्रवर्द्धनका लागि चितवनमा नेपाल फर्मा एक्स्पो हुने

काठमाडौं पुस ६,
नेपाल औषधि उत्पादक संघ [एप्पोन] ले स्वदेशी औषधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल फर्मा एक्सपो आयोजना गर्ने भएको छ ।

फर्मा एक्सपोको नवौं संस्करणमा संघ आवद्ध कम्पनीले उत्पादन गर्दै आएका औषधि र त्यसमा प्रयोग हुने प्रविधि, ल्याब लगायतका विविध पक्षका विषयमा सचेतना दिने लक्ष्यसंगै नेपाली औषधिको विश्वसनीयता अभिवृद्धिका साथै नेपालमा उत्पादन भएका औषधिको अन्तराष्ट्रिय बजारीकरण गर्नु रहेको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएकोछ ।

प्रत्येक २ वर्षको अन्तरालमा औषधि उत्पादक संघले आयोजना गर्दै आएको फर्मा एक्सपो यसपटक फागुन २५ देखि २७ गते तीन दिनसम्म चितवनमा नै सञ्चालन हुने जानकारी दिदै एक्सपोमा नेपाल, भारत, चीन र बङ्गलादेशका व्यवसायीको सहभागीता रहने जानकारी दिइएको छ ।

त्यस्तै आयोजक संस्थाले आसन्न एक्सपोमार्फत सम्वद्ध व्यवसायी सरोकारवाला र संघ संस्थावीचको सम्बन्ध सुमधुर हुने अपेक्षा सहित यसपटक पनि विगतका एक्सपोमा जस्तै ३० हजार जनाले प्रदर्शनीमा भाग लिने पूर्वानुमान रहेको जनाएको छ ।