सोमवार, जेष्ठ ७, २०८१

आयोगले राष्ट्रपतिलाइ बुझायो  १७औं वार्षिक प्रतिवेदन

 काठमाडौं पुस ६,
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एककार्यक्रमकावीच राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।

 आयोगको प्रतिवेदन बुझदै राष्ट्रपति पौडेलले संविधान तथा कानुनले प्रदान गरेको जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाका तारिफ गर्दै आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एक आधार भएकाले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने अभ्यास लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो ।

त्यस्तै प्रतिवेदन हस्तान्तरण पछि प्रमुख आयुक्त थपलियाले उक्त आर्थिक वर्ष मुलुकका लागि निर्वाचनमय वर्ष भएकाले सफलतापूर्वक सम्पन्न भएका विभिन्न तहका निर्वाचनका बारेमा प्रतिवेदनमा समेटिएको जानकारी दिदै यसवीचमा सम्पन्न सबै निर्वाचनलाई मितव्ययी, पारदर्शी र व्यवस्थित तुल्याएको बताउनुभयो ।