सोमवार, जेष्ठ ७, २०८१

प्रधानमन्त्रीद्वारा नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको ‘एक्सन रुम’बाटै भर्चुअल निरीक्षण

 काठमाडौं पुस ३,

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ(बुटवल खण्ड र मुग्लिन-पोखरा खण्डको भर्चुअल निरीक्षण गरेका छन् ।

सिंहदरबारबाट सोमबार दिउँसो प्रधानमन्त्रीले निर्माणाधीन दुवै सडकखण्डको भर्चुअल निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ । निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ ।’

उनले फिल्डका सबै कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन बुझाउन पनि निर्देशन दिए । ‘गिट्टी, बालुवा ढुंगा, विद्युत्‌का सानातिना समस्या समाधान गर्ने कुरा हाम्रो काबुमा छ, त्यो हाम्रो जिम्मेवारी पनि हो,’ उनले भने, ‘फिल्डका कार्यालयहरुले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्‍यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ ।’

तोकिएकै समयमा परियोजना पूरा हुनुपर्ने र कारण देखाएर काम रोक्न नहुने पनि प्रधानमन्त्री दाहालले निर्देशन दिए । ‘अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ । तोकिएको समयमै काम सकिनुपर्छ । यी कारणले काम भएन भन्न पाइने छैन,’ उनले भने, ‘यी दुई प्रोजेक्ट महत्त्वपूर्ण छन् । समयमै सकिनुपर्छ । म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु ।’

उनले राष्ट्रिय गौरवका आयोजनालाई दुई सिफ्टमा भएर काम गर्नुपर्ने बताए । उनले भने, ‘यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक अवसर लिऔं । अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन । राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गर्न प्रम प्रचण्डले निदेशन समेत दिनुभयो ।