सोमवार, जेष्ठ ७, २०८१

विपिनलाई छुटाउन पहलकद्मीका लागि कतारका प्रधानमन्त्री थानीलाई परराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौं मंसिर २५,
परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीलाई छुटाउन पहलका लागि कतारका प्रधानमन्त्री सेख मोहम्मद बिन अब्दुल रहमान अल थानीलाई आग्रह गरेका छन् ।

मन्त्री साउदले २१औं दोहा फोरममा सहभागी हुने क्रममा कतारका प्रधानमन्त्री अल थानीसँग आज शिष्टाचार भेटवार्ता गर्दै नेपाली नागरिकको रिहाइको पहल गर्न आग्रह गरेको कतारस्थित नेपाली दूतावासले जनाएको हो ।

 भेटवार्ताको क्रममा मन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा उसले निर्वाह गरिरहेको सक्रिय मध्यस्थता तथा कतार र नेपालबीचको जनस्तरको गहिरो सम्बन्धका बारेमा चर्चा गरेको दूतावासले जार िविज्ञप्तिमार्फत जनाएको छ ।

 जवाफमा कतारका प्रधानमन्त्री थानीले विपिन जोशीलगायत विदेशी बन्धकहरुको रिहाइका लागि कतार सरकारले गरेको प्रयास उल्लेख गर्दै चाँडै सकारात्मक परिणाम आउनसक्ने जनाउ सहित नेपालसँगको मैत्री सम्बन्ध कतार सरकारको प्राथमिकतामा रहेको पनि बताए । परराष्ट्रमन्त्री साउद आजै जेनेभामा हुने मानवअधिकार घोषणाको ७५औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन प्रस्थान गर्ने दूतावासले जनाएको छ ।