सोमवार, जेष्ठ ७, २०८१

एनसेलको शेयर खरिद-बिक्री प्रकरण छानबिनका लागि समिति गठन

 शेयर खरिद-बिक्री प्रकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं मंसिर २२,

सरकारले एनसेलको शेयर खरिद-बिक्री प्रकरणको छानबिनका लागि समिति गठन गरेको छ । पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गरिएको हो ।

गठित समितिलाइ मुलुकको प्रचलित कानुनको व्यवस्था अनुसार राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असर लगायतका विषयमा अध्ययन तथा छानबिन गर्न ३० दिनको कार्यादेश दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसैवीच एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा आजै रिट दायर गरेका छन् । सिंहले शुक्रबार एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो ।

 सासंद सिंहले दायर रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएको छ भने रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

 सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट यूकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको हो ।