सोमवार, जेष्ठ ७, २०८१

चोरीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

ललितपुर मंसिर १५,

ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैसेपाटी बस्ने डा.फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औठी, म्याकबुक, ल्यापटप, समेतका विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका -१८ बिनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, काठमाडौं नागार्जुन नगरपालिका- ८ भिमढुङ्गा घर भई ललितपुर पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, मकवानपुर बागमती गाउँपालिका १ बन्जरे बस्ने २० वर्षीय राजु तामाङ भन्ने राजु भोलन र रामेछाप गोठगाउँ गाउँपालिका-७ गोठगाउँ घर भई भक्तपुर बालकोट डेरा गरी बस्ने ३९ वर्षीय उमेश श्रेष्ठ रहेका छन् ।

उनीहरूमध्ये सबिन र राजु चोरी गर्ने तथा मनोज र उमेश चोरी गरेको अमेरिकी डलर सटही गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको जनाउँदै थप अनुसन्धानको लागि जिल्ला अदालत ललितपुरबाट डाँका चोरी कसुरमा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ललितपुर महानगरपालिका १८ भैंसेपाटीस्थित  कामेश्‍वर यादवको  घरकोठा तथा उनकै घरमा डेरा गरी बस्ने शोभा ढकालको कोठा समेतबाट करिब १९ लाख ४२ हजार ६ सय रूपैयाँ बराबरको नगद तथा जिन्सी धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-३ शैलुङ्गेश्वरी घर भई ललितपुर बुंगमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बर बहादुर तामाङलाई मंसिर ५ गते प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएकोछ ।