सोमवार, जेष्ठ ७, २०८१

राजधानीको तीनकुनेमा युवासंघ र बल्खुमा प्रसाईं समुहको प्रदर्शन

 बल्खुमा भएको झडपको क्रममा प्रहरीद्वारा अश्रुग्यासँगै पानीको फोहरा प्रहार

काठमाडौं मंसिर ७,
नेकपा एमालेनिकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।  प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेतलगायत युवा संघका नेता, कार्यकर्ताको उपस्थिति थियो । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झन्डासहित तीनकुनेमा विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले भ्रष्टाचार, अपराधलगायत बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर विरोध जनाएका छन् । सहभागी प्रदर्शनकारीहरुले अति भयो अन्याय र अत्याचार, कति सहने राज्य आतंक रु गणतन्त्र विरोधीहरु होसियारलगायत प्लोकार्ड र ब्यानर बोकेर विरोध जनाएका थिए ।

त्यस्तै बल्खुमा दुर्गा प्रसाईं र उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनको क्रममा व्यवसायी प्रसाईंका समर्थकहरुले हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, गणतन्त्र खारेज गर्, नारायणहिटी खाली गर्, हिन्दु राष्ट्र कायम गर् लगायत गणतन्त्र र व्यवस्थाविरोधी नारा लगाएका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु जम्मा भइ बल्खुमा प्रदर्शन गरेको हो ।

यसैवीच प्रदर्शनका क्रममा बल्खुमा प्रहरी र प्रसाईंका समर्थकबीच झडप भएको छ । प्रदर्शनकारी बल्खुबाट कालीमाटीतर्फ अघि बढ्न खोजेपछि बल्खुमा झडपको स्थिती सिर्जना भएको हो । झडपकोक्रममा प्रहरीले अश्रुग्यासँगै पानीको फोहरा प्रहार गरेको थियो ।

साथै प्रहरीले बल्खु र तीनकुने आसपासको क्षेत्रमा आजको प्रदर्शनलाइ नियन्त्रणमा राख्नका लागि मोबाइल नेटवर्क नियन्त्रणका लागि जामर भेहिकल सञ्चालनसंगै कडा सुरक्षा व्यवस्थाको प्रबन्ध गरेको थियो ।  जामर भेहिकल सञ्चालनका कारण मोबाइलको नेटवर्क विच्छेद भएको थियो ।