सोमवार, जेष्ठ ७, २०८१

विश्वेश्वर प्रसाद कोइराला आफ्नो राजनीतिक प्रेरणाको स्रोत: सभापति देउवा

  ललितपुर भाद्र २४,
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जननायक विश्वेश्वर प्रसाद कोइराला आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।  पार्टीका संस्थापक नेता कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेसले आयोजना गरेको तीन दिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले यस्तो अभिव्यक्ति दिनुभएको हो।

त्यस्तै सभापति देउवाले सम्बोधनको क्रममा विपी राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैं अजर र अमर नक्षेत्रको रुपमा आज पनि स्थापित रहनुभएको बताउँदै विपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै नेपालका सबै राजनैतिक दलहरुले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण समेत गर्दै आएको बताउनुभयो ।

त्यस्तै कोइरालाको पूर्ण कदको शालिकमा माल्यार्पण र त्यहाँ गमलामा राखिएको बिरुवामा जल सिञ्चन गरेर महोत्सवको विधिवत शुभारम्भ गर्दै सभापति देउवाले महोत्सवले बिपीले प्रतिपादन गरेको राजनीतिक विचार, उहाँका साहित्यिक कृति, उहाँले भोग्नु परेका सङ्घर्षमय जीवन गाथा र उहाँको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविधि पक्षमा आजको युवा पुस्तालाई गहिरो ज्ञान बाँड्नेमा सभापति देउवाले विश्वास व्यक्त गर्नुभयो ।

साथै सम्बोधनको क्रममा उहाँले बिपी सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो भन्दै बिपीले प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नुभएको र साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुने बिपीको विचार रहेको बताउनुभयो ।
साथै आफ्ना स्मरण व्यक्त गर्नेक्रममा सभापति देउवाले हामीले विपीलाइ भेट्दा तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो । उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग र आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई आवश्यक ठान्नुहुन्थ्यो”, सभापति देउवाले भन्नुभयो ।

त्यस्तै  सभापति देउवाले समयको अन्तरालसँगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको उल्लेख गर्दै नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको धारणा व्यक्त गर्दै अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बिपी सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्दै राज्यको सिमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीसँग मित्रवत ढङ्गले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु र निर्णय गराई बिपीको स्वभाव रहेको बताउनुभयो ।

यस्तो छ सभापति देउवाले महोत्सवमा अभिव्यक्त गर्नुभएको सम्बोधनको पूर्णपाठः
कार्यक्रम संयोजकज्यू, पार्टीका सम्पूर्ण साथीहरू,
विभिन्न राजनीतिक दलका नेताहरू, विभिन्न विधाका कवि, साहित्यकार, चित्रकार, संगीतकार एवं सम्पूर्ण अतिथी पाहुनाहरु, यहाँहरुलाई यस महोत्सवमा हार्दिक स्वागत गर्दछु ।
आज बिपी कोइरालाको ११० औ जन्म जयन्तीमा उहाँलाई स्मरण गर्दै उहाँले प्रतिपादन गरेका राजनीतिक विचार, उहाँका साहित्यिक कृतिहरु, उहाँले भोग्नु परेका संघर्षमय जीवन गाथाहरू र उहाँको सामाजिक, आर्थिक तथा धार्मिक साँस्कृतिक दृष्टिकोण लगायतका विधि पक्षमा विशिष्ठ ज्ञान भएका विद्वान वुद्धिजीवीहरुबाट चर्चा वहस गराई आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्ने यो महोत्सवको उद्देश्य रहेको छ ।
बिपी आफैमा वहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधै अजर र अमर नक्षेत्रको रुपमामा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिडेका छौ । मुलुकलाई त्यही चिन्तनले समृद्ध बनाउने लक्ष्य लिएका छौ, प्रयत्न गरिरहेका छौं भने नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि उहाँको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएका छन् ।
यहाँ उपस्थित रहनुभएका धेरै साथीभाइहरूले समय र उमेरका कारणले बिपीलाई भेट्ने अवसर पाउनु भएन, जतिले पाउनु भयो, जति समय पाउनु भयो उहाँहरुले पक्कै पनि आफ्नो विचारमा, दृष्टिकोणमा, जीवन दर्शनमा र व्यवहारमा उहाँबाट केही न केही कुरा अवश्य लिनुभएको
छ । मेरो राजनीतिक प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्छ ।
उहाँ साधा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा, उहाँले आफै भन्नु हुनुहुन्थ्यो कि तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु ।
उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग निकट देखिनुहुन्छ भने आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई पनि आवश्यक ठान्नुहुन्छ । सामन्तवादका विरूद्ध तत्कालिन समयमा देखिएको निरपेक्ष साम्यवाद र निरपेक्ष पूँजीवाद दुबै उहाँले अपूर्ण देख्नुभयो । अनि प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नु भयो “साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ ।” आज नेपाली कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको छ ।
समयको अन्तराल संगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको छ तर विभिन्न कारणले स्थायित्व पाएको छैन । नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेका छौं तर यसको मर्म अनुसार अभ्यास गर्न पाएका छैनौं । नागरिकका कैयौं अभाव, समस्या, असन्तुष्टी र समाजमा देखिएका विभेद विसंगतिलाई बिपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिन सक्छ भन्ने दृढ विश्वास हुँदाहुदै पनि उहाँको विचारलाई हरेक पुस्ताका नागरिकहरू वीच पर्याप्त वहस र छलफल गराउन नसक्नु हाम्रा पनि केहि कमजोरीहरू रहेका छन् ।
बिपी राष्ट्रिय मात्रै होइन अन्र्तराष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार हुनुहुन्थो, सबै किसिमका विभेद विरूद्ध आगो ओकल्नु
हुन्थ्यो । समावेशीता र सधै नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनु भयो भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झै उभिनुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा उहाँ सवैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्नुु हुन्थ्यो भने राज्यको सिमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मीत्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु हुन्थ्यो र निर्णय गराईछाड्नु हुन्थ्यो ।
यस्तो महान व्यक्ति आज हाम्रा सामु भौतिक रूपमा नभएपनि उहाँका विचार, सिद्धान्त र साहित्यिक कृतिहरूले हामीलाई मार्ग निर्देश गरिरहेको छ । उपस्थित सबै महानुभावहरूले तीन दिन सम्म यो महोत्सवमा निर्धारित विषयमा गहिरो छलफल वहस गर्नु हुनेछ । वैचारिक वहस संगै साहित्यिक साँस्कृतिक र सांगीतिक माहोलमा प्रसिद्ध चित्रकारहरुले कोरेका आकर्षक र मनमोहक चित्रहरु अवलोकन गर्नु हनेछ र आफ्नो जीवनलाई बिपी विचारवाट दिक्षित गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । साथै छोटो समयको तयारीमा पनि यो महोत्सवलाई भव्य र सभ्य बनाउन अहोरात्र लागि पर्ने पार्टीका साथीहरू, कार्यालयका कर्मचारीहरू, नेपाली लेखक संघ, नेपाल सांस्कृतिक महासंघ, फाईनआर्ट, निरन्तर शनिवार, प्राविधिकहरु, संचारकर्मी लगायत सबै उपस्थित साथीहरूमा नेपाली कांग्रेस पार्टीकै तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
जय नेपाल ।
शेरबहादुर देउवा
सभापति
नेपाली कांग्रेस

२०८० भाद्र २४

। बीपीका विषयमा विभिन्न राजनीतिज्ञ र विश्लेषकलाई राखेर अन्तरक्रिया पनि गरिएको छ ।

महोत्सव तीन दिनसम्म चल्ने महोत्सव आयोजक समितिले जनाएको छ । उद्‍घाटन कार्यक्रममा ११० वटा बेलुन उडाइएको छ । एउटा मूल बेलुनलाई बीपीको तस्बीर, पार्टीको झण्डा, चार वटा तारा, चुनाव चिन्ह अंकितलाई तीन दिनसम्म कार्यालयमाथि उडाइनेछ ।

कांग्रेसका नेता एवं कार्यकर्ता र सर्वसाधारणहरू सानेपामा बाक्लो संख्यामा सहभागी भएका छन् । उनीहरूले कार्यक्रमस्थलमै राखिएको क्यानभासमा इच्छाअनुसार रंग भर्ने र तीन दिनको कार्यक्रम समाप्तिसम्ममा बन्ने आकृति प्रदर्शनीका लागि कालान्तरसम्म संरक्षण गरिने भएको छ । सहभागीहरूले वीपीको साहित्य लेखन, विचार र जीवनबारे चर्चा गर्दै विभिन्न योगदानको स्मरण गरेका छन् ।

यस्तै, ललितपुर कांग्रेसले बनाएको उद्यानमा सभापति देउवाले रुद्राक्षको बिरुवा रोप्ने काम सम्पन्न गरेका छन् । यो कार्यक्रम कांग्रेसले यसअघि गरेका कार्यक्रमभन्दा भव्य र सभ्य देखिएको छ ।  राजनीतिक विश्लेषकहरूले बीपी कोइरालाको पार्टी नेपाली कांग्रेसले पनि आलोचना र प्रश्न सुन्न छाडेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा सुरु भएको बीपी साहित्य महोत्सवमा ’बीपीको दृष्टिमा बीपी सेसन’मा बोल्दै विश्लेषक सीके लालले वर्तमान नेताहरूमा प्रश्न सामना गर्ने आत्मविश्वास र साहस नभएको दाबी गरे ।

‘अहिलेको समसामयिक समाज र राजनीतिको चुनौती नै के हो भने प्रत्येक व्यक्तिभित्र डर र भय छ । उसले प्रश्नको सामना गर्न सक्दैन, उनले भने, भयलाई हटाउने कसरी रु प्रकाशले मात्र अँध्यारो हटाउन सके जस्तै भयलाई हटाउने ज्ञान हो । ज्ञान विश्वविद्यालयमा पढेर मात्र हुँदैन, आत्मचिन्तन हुनुपर्यो त्यसका लागि अध्ययन हुनुपर्यो ।’

सीके लालले विश्वविद्यालय एकपक्षीय सोच निर्माण गर्ने ठाउँ भएको भन्दै विश्वविद्यालयको भूमिकामै प्रश्न उठाए । अर्का राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले नेपाली कांग्रेस पार्टीका प्रांगणमा उभिएर भन्दा बीपी र उनको विचारलाई पार्टीले अंगाल्न नसकेको बताए ।

सेसन संयोजक विश्वप्रकाश शर्माले बीपी आलोचना र प्रश्न चाहने नेता भएपनि वर्तमान राजनीति दल र उसका नेता पपुलिज्ममा रमाउन थाले भन्ने प्रश्नमा उनले त्यो कुरा नेपाली कांग्रेसकै नेताहरू आलोचना प्रश्न सुन्न चाहने चरित्र हावी भएको बताए ।  अहिले दलहरू र नेतामा अंहकार हावी भएको पनि बताए । प्राध्यापक कृष्ण खनालले बीपीको समयमा जस्तो चरित्र अहिले नभएको भन्दै अहिलेका पात्रहरूलाई बीपीसँग तुलना गर्नै नसकिने बताए ।

नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवमा महामन्त्री विश्वप्रकाश शर्माले सञ्चालन गरेको सत्रमा वक्ताका रुपमा रहेका प्राध्यापक खनालले बीपीसँग तुलना गर्ने एउटा पात्र पनि अहिलेको राजनीतिमा नरहेको बताए ।

त्यसबेला प्रश्न उठाउनका लागि आग्रह गर्ने प्रधानमन्त्री बीपी र अहिलेका प्रश्न गर्नु पाउनुपर्छ तर हामी माथि होइन, अथवा मैले समर्थन गरेको व्यक्ति माथि होइन भन्ने प्रवृत्तिलाई कसरी तुलना गर्नु हुन्छ भन्ने प्रश्नमा प्राध्यापक खनालले यस्तो व्याख्या गरेका हुन् ।

“बीपी कोइरालाले आफ्नो आलोचना गरिदिनका लागि पत्रकारहरूलाई आग्रह गर्नुभएको थियो । तर, अहिले म प्रधानमन्त्री भइसके, अध्यक्ष९सभापति भइसके । मैले भनेको नमान्ने भनेर हप्काउने नेताहरू छन्,” प्रा। खनालले भने, “चरित्र गुमाएको राजनीतिका पात्रहरूमा बीपी खोज्न सकिँदैन ।” उनले बीपीसँग तुलना गर्न योग्य पात्र राजनीतिमा नरहेको बताए ।

साहित्य बुझ्नका लागि रचनागर्भ बुझ्न जरुरी रहेको भन्दै उनले बीपीलाई बुझ्न पनि त्यस समयको वास्तविकता बुझु्नुपर्ने बताए । उनले युवाहरूलाई बीपीलाई फेरि एकपटक अध्ययन गर्न सुझाव दिँदै अहिलेको राजनीतिलाई शुद्धीकरणतर्फ लैजाने माध्यम त्यही हुन सक्ने बताए । प्राध्यापक खनालले बीपीको विचार राजनीतिक दलले नबोक्ने भन्दै समाज सेवामा लागेका युवाहरूले अत्याधिक अध्ययन गर्न जरुरी रहेको बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031