सोमवार, जेष्ठ ७, २०८१

भाद्र १० देखि २४ सम्म काँग्रेसले समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने  

  • काँग्रेस महासमिति बैठक मंसिर १३-१५ काठमाडौंमा गर्ने निर्णय
  • सुन तस्करीमा संलग्नलाई कारबाहीको माग
  • बाढी, पहिरो र भूकम्पका कारण भएको जनधनको क्षतिबाट प्रभावितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग
  • आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार गर्ने पार्टी सदस्य एवं भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज गर्ने निर्णय

काठमाडौं साउन ११,
नेपाली कांग्रेसले आगामी मंसिर १३ देखि १५ गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौँमा बोलाउने निर्णय गरेको छ ।  कांग्रेसको बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानबमोजिम नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी मंसिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक बोलाउने निर्णय गरेको पार्टी महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबारको बैठकमा निर्णयार्थ प्रस्तुत गरेका प्रस्तावहरू बैठकले पारित गरेको जानकारी दिदै महामन्त्री शर्माले मंसिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक बस्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै उहाँले कांग्रेसको साङ्गठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० आन्तरिक, भाद्र १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने निर्णयसंगै आगामी भाद्र १५ गतेभित्र नेपाल दलित सङ्घको केन्द्रीय महाधिवेशन गर्नका लागि आवश्यक परामर्श गरी तदर्थ समिति गठन गर्ने निर्णय समेत गरेको बताउनुभयो ।

साथै बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट वरामद करिब एक सय किलो सुनका सन्दर्भमा गम्भीरतापूर्वक गहिरो अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन र बर्षतका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र भूकम्पका कारण भएको जनधनको क्षतिबाट प्रभावितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसंग माग गरेको छ।

त्यस्तै जातीय विभेद, घरेलु हिंसा या अन्य कुनै पनि सामाजिक विसङ्गतिमा प्रमाणित एवं कुनै पनि प्रकृतिका माग सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार ९शारीरिक आक्रमण, कालोमोसो दल्ने आदि० गर्ने पार्टी सदस्य एवं भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज गर्ने निर्णय समेत बैठकले गरेको छ ।