सोमवार, जेष्ठ ७, २०८१

साउन २ देखि मत्स्यनारायणमा वृहत मलमास मेला लाग्ने

-माधव खनाल-

काठमाडौं साउन १,
काठमाडौंको रत्नपार्कबाट पश्चिमतर्फ लगभग १० किलोमिटरमा पुगिने चन्दागिरी नगरपालिका मच्छेगाउँस्थित मत्स्य नारायण मन्दिरमा  [मंगलवार] साउन २ गते  बाट पुरुषोत्तममास मेला लाग्दैछ । पुरुषोत्तम [मलमास] अवधि भर लाग्ने मेलामा देश तथा विदेशबाट मेला भर्न आउनेको संख्या लगभग २० लाख नाघ्ने अनुमान पुरुषोत्तममास मेला व्यवस्थापन समितिले गरेको  छ।

चनपा वडा न.९ का वडाध्यक्ष अच्युत अधिकारीको अध्यक्षतामा गठित पुरुषोत्तम मास मेला व्यवस्थापन समितिले आज  एक पत्रकार सम्मेलनको   आयोजना गर्दै मेला सम्बन्धि जानकारी दिएको हो ।

केहो पुरुषोत्तम महिना ?
धर्मशास्त्र अनुसार पुरुषोत्तम महिनालाई अशुद्ध महिना पनि भनिन्छ, यस अवधिमा शुभकार्य नहुने धार्मिक मान्यता छ । यहाँ लगभग ३ वर्षमा मेला लाग्ने गर्दछ । भगवान विष्णुको पहिलो रुप मत्स्यरुपलाई मानिन्छ । ब्रम्हाले संसार सृष्टिका क्रममा हैग्रिप दानवको पनि सृष्टि भएको मानिन्छ । उनले ब्रम्हाको आँखा छली बेदलाई हरण गरी पाताल लोकमा पुरयाएर लुकाएर राखे । उनै हैग्रिवलाई मार्न विष्णुले मत्स्य रुप धारण गरेको किम्वदन्ती रहेको छ । यस अवधिमा नारायणको पूजा गर्नाले पाप नास भई मुक्ति मिल्ने जनविश्वास छ । अधिकमासका रुपमा समेत लिइने यस महिनाको अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना भनिएको  आख्यान धर्मशास्त्रमा  वर्णित रहेको  पाइन्छ ।

 पत्रकार सम्मेलनमा व्यवस्थापन समितिले  यस वर्षको मेला   अघिल्ला वर्षमा जस्तो अव्यवस्थित नहुने  जनाउँदै   मेला भर्न आउँने  भक्तजनका लागि   वरपर खानेपानी र शौचालय र ट्राफिक व्यवस्थापन देखि शान्ति सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको जानकारी दिइएको छ ।

त्यसैगरी चोरीका घटना र कोही कसैले महिला, बालबालिका, वृद्धबृद्धा लगायतलाई अभद्र व्यवहार नगरोस् भन्नका लागि मन्दिर आसपास १५ वटा सीसी क्यामराको  जडानसंगै  खाद्यान्न लगायत सामानको अस्वाभाविक मूल्य राखेमा ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी समेत  दिएको छ ।  साथै यसपटक सार्वजनिक स्थानमा व्यापार व्यवसाय संचालन गर्न समेत यस पटक रोक लगाएको छ ।

रत्नपार्क, कलंकी र तीनथाना हुँदै अथवा रत्नपार्क, कीर्तिपुर हुँदै पनि मन्दिरमा जान सकिनेछ । मन्दिर चन्द्रागिरि नगरपालिका वडा नं। ९ मा पर्दछ । तीर्थालुहरुमा सामान्य खालका स्वास्थ्य समस्या आएमा सोही स्थानमा प्राथकिक उपचारका लागि डाक्टर, नर्सको टोली खटाइने छ भने ठूलै खालका समस्या आएमा चन्द्रागिरि स्थित लायन्स क्लब अफ चन्द्रागिरीले मेला अवधिभरका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने र सो एम्बुलेन्स  तयारी अवस्थामा   रहने आयोजकले बताएको छ ।