सोमवार, बैशाख ३१, २०८१

भुटानी शरणार्थी काण्‍डको सफल अनुसन्धानले लोकतन्त्रको सर्वोच्चता स्थापित छः प्रधानमन्त्री

काठमाडौं असार १३,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्‍कली भुटानी शरणार्थी काण्‍डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकलाई बुधवार सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘ उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्‍ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ।’ प्रधानमन्त्रीले यसलाई शुद्धीकरणको संज्ञा दिँदै अब यो क्रम नरोकिने संसद र आमजनसमुदायलाई विश्वास दिलाउनुभयो ।

उहाँले हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको बताउनुभयो। वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको उहाँको भनाई थियो ।

बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र। म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डुंगुर भत्काइछाडिनेछ। लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील रहेको बताउनुभयो ।