सोमवार, बैशाख ३१, २०८१

आगामी आर्थिक वर्षको लागि प्रस्तुत बजेट संशोधनबिनै पास गर्ने सरकारको तयारी

काठमाडौं असार १३
आज बस्ने  प्रतिनिधिसभा बैठकमार्फत सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेट संशोधनबिनै पास गराउने भएको छ । अर्थमन्त्री महतले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

जेठ २२ देखि सुरु भएको बजेटमाथिको छलफलमा मात्रै नभएर बैठक नै बसेर यथास्थितिमा बजेट पारित गर्न नदिने बताएका दलहरू पनि बिनासंशोधन बजेट पारितका लागि तयार भएको हो ।

यसैवीच विनियोजन विधेयकसहित मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिइसकेको जानकारी दिदै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मातहतका कार्यालयको बजेटबाट उठेको प्रश्नको जवाफ दिएसंगै बजेट पास गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै सचिवालयले प्रधानमन्त्री दाहालले बजेटअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको जनाएको छ ।

त्यस्तै सभामुख देवराज घिमिरेले विभिन्न मन्त्रालयहरुको विभिन्न शिर्षकमा सांसदहरुले प्रस्तुत गरेको खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने बैठकको अर्को कार्यसूची रहेको छ। स्मरण रहोस २७ जना सांसदले विभिन्न मन्त्रालयको विभिन्न शिर्षकमा खर्च कटौतीको प्रस्ताव गरेका छन् ।

त्यसलगत्तै बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

साथै बजेट पारित गर्ने विषयमा नेपाली कांग्रेस र मा‌ओवादी केन्द्रले ह्विप जारी गरिसकेका छन् । जसपा र एकीकृत समाजवादीले भने औपचारिकताका लागि आज छलफल गर्ने भएका छन् । दलगत निर्णय गर्नका लागि छलफल हुने भए पनि बजेटको पक्षमा मतदान गर्ने निश्चित भएको सम्वद्ध स्रोतको भनाइ रहेको छ ।