शनिबार, बैशाख २२, २०८१

महानगर प्रमुखले स्थानीय सरकार सञ्चालन ऐन बुझेर काम गर्नुपर्छ :सञ्चारमन्त्री शर्मा

 काठमाडौं चैत ३० ,
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेललाइ सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताउनुभएको छ ।

त्यस्तै मन्त्री शर्माले महानगरपालिकाको प्रमुखले भनेको विषय सम्बोधन भएन भन्दै जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने र विधान, कानून र स्थानीय सरकार सञ्चालन ऐन बुझेर काम गर्नुपर्ने बताउनुभयो ।  साथै मन्त्री शर्माले गठबन्धनका बीचमा कुनै समस्या नभएको र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बीचमा सरकार सञ्चालनको सम्बन्धमा आवश्यक संवाद र छलफल भइरहेको बताउनु भएको छ।

त्यस्तै चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको १४ बुँदे निर्णय अन्र्तगत आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंक [एडीबी]को ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ।

 त्यसैगरी बैठकले आगामी वैशाख १३ देखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनाललाई सहभागी हुन स्वीकृति दिएको छ। यसैगरी बैठकले उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद् [गठन] आदेश, २०७५ को अनुसूची संशोधन गर्ने, व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय संगै खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने, प्रशोधित फोहोर पानी उत्सर्जनसम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको बताउनुभयो ।

सरकारले सुपर काबेली खोला क्यास्केड जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको दुई दशमवल २८ हेक्टर, जुम खोला जलविद्युत् आयोजनाका लागि गौरिशङ्कर संरक्षण क्षेत्रको राष्ट्रिय वनको १५ दशमवल १७२ हेक्टर र सुपर काबेली ए जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वन क्षेत्रको दुई दशमवल २८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णयसंगै लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूह र उपसमूहको दुई राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिक सहसचिव पदमा नियुक्ति गरी पदस्थापन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।