आइतवार, बैशाख २३, २०८१

शुक्रबारदेखि उपनिर्वाचनको आचारसंहिता लागू हुने

काठमाडौं चैत २३,

निर्वाचन आयोगले  आगामी बैशाख १०मा चितवन, बारा र तनहुँमा सम्पन्न हुने उपनिर्वाचन लक्षित हुँदै  यी ३ जिल्लामा शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको  आचारसंहिता लागू हुने जनाएको छ ।  चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि  आचारसंहिता जारी रहने जनाउँदै  आयोगले  निर्वाचन आचारसंहिता, २०७९ को प्रभावकारी कार्यान्वयन गर्न/गराउन नेपाल सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यस्तै सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मीलगायतले आचारसंहिताको पालना गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।

 साथै  आचारसंहिता अवधिभर तोकिएका निकाय, अधिकारी तथा व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन, वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृति गर्न वा सञ्चालन गर्न, कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने, कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न वा त्यस्ता पदमा नियुक्त गर्न नहुने आचारसंहितामा उल्लेख  गरिएकोछ ।