बिहिबार, बैशाख २०, २०८१

महाशिवरात्रीका अवसरमा पशुपतिमा दर्शनार्थीको भिड, दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था

काठमाडौं फागुन ६,
महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । शान्ति सुरक्षाको व्यवस्था सहित पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाइएको जनाएको छ । दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको र हंसमण्डप, वनकालीको खुला स्थान, तिलगङ्गा क्षेत्रलाई आवास क्षेत्र तोकिएको कोषले जनाएको छ।

साथै पाशुपत क्षेत्रका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ रहेका छन् । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक–एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक–एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ ।

 त्यस्तै कोषले ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको जानकारीदिदै भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारीसंगै भक्तजनलाई कुनै किसिमको समस्या नहोस् भनेर आवश्यक सम्पूर्ण व्यवस्था मिलाएको जानकारी समेत दिएको छ।

 त्यस्तै पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालनसंगै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमासमेत गाँजा, भाङ, जाँडरक्सीजस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।