आइतवार, बैशाख २३, २०८१

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने मन्त्री शर्माको प्रतिवद्धता

काठमाडौं माघ २३,
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्त रूप दिइने प्रतिवद्धता सहित पछिल्लो समय प्रविधिको विकासँगै सञ्चार क्षेत्रमा भएको सकारात्मक तथा नकारात्मक पक्षको नियमन आफैमा अपरिहार्य आवश्यकता भइसेकेको बताउन भएको छ । नेपाल पत्रकार महासंघले सोमबार नवनियुक्त मन्त्री शर्मालाई बधाई ज्ञापनका लागि महासंघ मुख्यालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस्तै उहाँँले पुरानाका कानुनलाई प्रतिस्थापन गर्दै नयाँ सञ्चारसम्बन्धी कानुनलाई सरोकारवालाको प्रत्यक्ष सहभागितामा निर्माण गरिने प्रतिवद्धता सहित महासंघलगायत सरोकारवाला संस्थालाई सञ्चारक्षेत्रबाट नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव प्राप्त हुन्छ त्यही आधारमा सुधार गरिदै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोख्रेलले संसदमा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन मन्त्री शर्मालाई आग्रहसंगै आमसञ्चार प्रतिष्ठान, जेष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चारक्षेत्रको नीतिगत सुधारका लागि महासंघले दिएको सुझावका आधारमा निर्माण हुनुपर्ने बताउनुभयो ।

त्यस्तै सञ्चार मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले महासंघले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले सञ्चार प्रतिष्ठानको स्थापना गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै महासंघका महासचिव रोसन पुरीले पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार प्रतिष्ठानको तत्काल स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चारगृहको आधारमा पत्रकारको पहिचानको व्यस्था गर्न, सञ्चारसम्बन्धी सरकारका नीतिगत समितिमा महासंघको प्रतिनिधित्वलाई कम स्थान दिने थालिएकोप्रति मन्त्री शर्माको ध्यानाकर्षण गराउँदै लोककल्याणकारी विज्ञापन, सरकारले सञ्चार क्षेत्रलाई प्रदान गर्ने सहुलियतलगायतमा श्रमजीवी पत्रकारको हितमा व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । साथै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत ले प्रविधिको विकाससंगै हाल विकास भइरहेको नयाँ मिडियाको नियमन गर्न आवश्यक रहेको बताउनुभयो ।

महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार डा.महेन्द्र विष्ट , सल्लाहकार एवम् पूर्व अध्यक्ष गोविन्द आचार्य, सल्लाहकार निर्मला शर्मा लगायतले नेपाली सञ्चार जगतको पछिल्लो अवस्थाका विषयमा आआफ्नो धारणा राख्नु भएको थियो