शनिबार, बैशाख २२, २०८१

कांग्रेसले पार्टी मुख्यालयमा निर्वाचनका लागि सञ्चार केन्द्र स्थापना गर्ने

 काठमाडौं कार्तिक १,

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसार संगै स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने लक्षय अनुरुप पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ ।

समितिका संयोजक एवं पार्टी प्रवक्ता डा प्रकाश शरण महतको अध्यक्षतामा आज बसेको बैठकले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्रका साथै प्रदेश, जिल्ला, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो ।

त्यस्ते बैठकले निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी संगै पार्टीको निर्वाचन प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निर्माण गर्ने र विभिन्न सञ्चारमाध्यमहरु रेडियो, एफएम, टीभी, प्रिन्ट मिडिया, अनलाइन तथा सामाजिक सञ्जाललगायतबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

उक्त कार्यका लागि पार्टी सम्बद्ध भ्रातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवी, सञ्चारकर्मी, अन्य पेसागत संस्था र साथीहरूलाई अधिकतम संलग्न गराई सक्रिय गराउने तथा प्रचार सामग्री उत्पादन तथा प्रचार प्रसारका लागि विभिन्न उप–समिति समेत गठन गरिएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैवीच कांग्रेसले चुनावमा परिचालनका गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको केन्द्रीय परिचालन समितिको आज बसेको बैठकले पनि पार्टी र गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै तहका संयन्त्रहरूलाई व्यापक परिचालन गर्ने लक्ष्य अनुरुप भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय एवं परिचालन, अनुगमन मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय लगायतका थप विभिन्न उपसमितिहरू गठन गरेको काँग्रेस मुख्यालयले जनाएको छ ।