शनिबार, बैशाख २२, २०८१

यस्तो छ गठबन्धनको पक्षमा मतदान गर्न शिर्ष नेतृत्वको संयुक्त अपिल

 काठमाडौं कार्तिक १,
आसन्न आम निर्वाचन लक्षित हुँदै नेपाली काँग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनको तर्फबाट गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गरेको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको संयुक्त हस्ताक्षरमा जारी अपिलमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिएको छ ।

त्यस्तै आसन्न निर्वाचन मार्फत मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षासंगै राजनीतिक स्थायित्व एवम् शिक्षा, स्वास्थ्यलगायत लोकतन्त्रको सबलीकरणका मुख्य विषयहरूलाइ मनन गर्दै गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल जारी गरेको हो ।

त्यस्तै जारी अपिलमा मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधिसभाको असंवैधानिक विघटनलगायत तत्कालीन सरकार प्रमुखको अनेकौँ स्वेच्छाचारी कदमलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको कुरा जगजाहेर रहेको उल्लेख गरिएको छ ।

त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरी सेवाको उपलब्धता र गुणस्तरमा उल्लेख्य सुधार गर्न गठबन्धनका दलहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै अपिलमा मुलुकलाइ आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाकोे सुनिश्चितता गर्दै उत्पादन वृद्धि र मुलुकभित्रै रोजगारीका पर्याप्त अवसरको सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणकोे राष्ट्रिय कार्यभारलाई गठबन्धन दलले उच्च प्राथमिकता दिने उल्लेख गरिएको छ।