शनिबार, बैशाख २२, २०८१

निर्वाचनको १७ दिन अघि मात्रै चुनावी प्रचारप्रशार गर्न पाइने

आचारसंहिता कार्यान्वयनमा कडाइँ गर्न निर्देशन 

काठमाडौ असोज ३१,
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लक्षित हुँदै राजनीतिक दल र उम्मेदवारले गर्ने चुनावी प्रचार प्रशार कात्तिक १८ बाटमात्रै गर्न पाउने जनाएको छ ।

यद्यपी यसवीचमा कुनै पनि किसिमको तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि भने जान पाउने आयोगले जनाएके छ । आयोगले राजनीतिक दलको छलफल जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था अनुरुप
यस किसिमको व्यवस्था गरेको हो ।

त्यस्तै आयोगले कडाइँका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिदै आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न यसअघिनै सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइसकेको छ ।

साथै निर्वाचन आचारसंहिता, २०७९ को केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको उलङ्घन गरेको पाइए कडा कारबाही गरिने जनाउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न र गराउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको र उलङ्घनका घटना र उजुरीका आधारमा कारबाही प्रारम्भ भएको बताउनुभयो ।