मङ्लबार, बैशाख १८, २०८१

सत्ता गठबन्धनले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने

काठमाडौं असोज २९ ,
आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन लक्षित हुँदै  सत्ता गठबन्धनले कात्तिक ४ देखि ७ गतेसम्म सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको हो ।

गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुने प्रदेशस्तरीय संयुक्त भेलाका सम्बन्धमा जारी विज्ञप्तिमा उल्लेखभए अनुसार नेकपा एकीकृत समाजवादी पार्टीको समन्वयमा कात्तिक ४ गते पोखरा र बुटवलमा भेला हुने भएको छ भने नेपाली कांग्रेसको समन्वयमा कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रदेशस्तरीय मधेश प्रदेश भेला हुने भएको छ । त्यस्तै कात्तिक ६ गते माओवादी केन्द्र र कांग्रेसको समन्वयमा सुर्खेत र धनगढीमा र कात्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला हुनेभएको छ।

यस्तै कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको सयुंक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा सत्ता गठबन्धनले गठबन्धनका तर्फबाट संयुक्त अपिल प्रकाशन गर्न समिति गठन गर्ने, गठबन्धनका दलहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने, जिल्ला आवश्यकताअनुसार गठबन्धनका दलहरूबीच आवश्यकताअनुसारका अन्य समितिहरू गठन गर्नसक्ने निर्णय भएको समेत उल्लेख गरिएको छ।