आइतवार, बैशाख २३, २०८१

राष्ट्रियसभा बैठक: नागरिकता {पहिलो संशोधन} विधेयक २०७९ बहुमतले पारित

 काठमाडौं साउन १२,
राष्ट्रियसभाको आज बसेको बैठकले नेपाल नागरिकता [पहिलो संशोधन] विधेयक २०७९ बहुमतले पारित गरेको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि सभामा छलफल पछि गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गर्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो ।

उक्त विधेयकमाथिको संशोधन प्रस्ताव राख्ने संयुक्त संशोधनकर्ताका तर्फबाट डा बेदुराम भुसाल र गोपीबहादुर अछामीले संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो भने सांसदहरु खीमलाल देवकोटा, देवेन्द्र दाहाल, विमला राई पौडेल, तुलप्रसाद विश्वकर्मा र भगवती न्यौपाने लगायतले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरिएको थियो ।

त्यसैगरी बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक, २०७९ पनि पारित गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ।