शुक्रबार, बैशाख २१, २०८१

पत्रकार महासङ्घ ६७औँ वर्षमा

काठमाडौ चैत १६,
नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ स्थापनाको ६७औँ वर्षमा प्रवेश गरेको छ । पत्रकारको हकहितका निम्ति स्थापित महासङ्घ नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित तथा पेसागत मुद्धाका लागि अविछिन्न रुपमा लड्दै आएको छ ।

महासंघ ६७औँ वर्षमा प्रवेश गर्दैगर्दा नेपाली प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउने सन्दर्भमा पत्रकार गम्भीर रहेको जनाउदै अध्यक्ष विपुल पोखरेलले आज जारी गर्नु भएको शुभकामना सन्देशमा महासङ्घले तीन तहमा बन्दै गएका कानुनका कतिपय व्यवस्थामा असहमति जनाउँदा त्यसलाई सच्चाउनेतर्फ भन्दा तिनलाई उपेक्षा गर्ने चरित्र राज्यले देखाएको जिकिर गर्दै नियन्त्रणकारी मनसायका साथ कानुन बनाउने खोजिए महासङ्घले सशक्त प्रतिवाद गर्ने बताउनुभयो ।

त्यस्तै उहाँले महासङ्घले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना र आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना गर्नुपर्ने बताउनुभएको छ।

त्यस्तै पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसको अवसरमा उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले पनि शुभकामना सन्देश जारी गर्दै सम्वद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।  स्मरण रहोस महासङ्घले पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचारको प्रबन्ध, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका माग पूरा गर्न सरकारसहित सम्बन्धित निकायमा ध्यानाकर्षणसमेत गराउँदै आएको छ ।

यसैवीच महासङ्घले स्थापना दिवसको अवसरमा आज प्रभातफेरी, सञ्चारका विविध विषयमा विज्ञसहितको अन्तक्र्रिया, रक्तदान, स्वास्थ्य शिविर जस्ता कार्यक्रमको आयोजनासमेत गरको छ ।