शनिबार, बैशाख २२, २०८१

५ कम्युनिस्ट घटकद्दारा बुधबार नेपाल बन्दको घोषणा

काठमाडौं फागुन ३,
सरकारले बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी] टेबल हुने सम्भावना बढेसंगै उक्त सम्झौताविरुद्ध ५ कम्युनिस्ट घटक र मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा[क्रान्तिकारी माओवादी], नेत्रविक्रम चन्द [विप्लव] नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार साँझ सयुक्त विज्ञप्ति जारी गर्दै बन्दको घोषणाा गरेको हो ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ –नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्ष र शेरबहादुर देउवा सरकारलगायत अमेरिकी साम्राज्यवादका दलाल एवम् एमसीसी कम्प्याक्टका पिछलग्गुहरू बीचको पेचिलो सङ्घर्षको मोर्चाका क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्की र देउवा सरकारलगायत राष्ट्रघाती एवम् जनघाती दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेको र उक्त राष्ट्रघाती षड्यन्त्रविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ ।