आइतवार, जेष्ठ ६, २०८१

एमाले सचिवालय बैठक: पार्टी सचिव रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष

काठमाडौं बैशाख २६,
नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछिप्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सचिव रायमाझीको नाम पनि सो प्रकरणमा मुछिएको र पक्राउ पूर्जी समेत जारी भएका कारण उनले विधिपूर्वक, कानूनसम्मत अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले बैशाख २८ गतेदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने १० वटा एजेण्डा तय गरेको जानकारी समेत उहाँले दिनुभयो ।  बैठकले केन्द्रीय समिति बैठकका लागि तय गरेको एजेन्दामा मुलत भाद्र १० र ११ गते सम्पन्न केन्द्रीय कमिटी बैठक पछिको राजनीतिक घटनाक्रमहरूसहितको राजनीतिक प्रतिवेदन अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने रहेको छ ।

त्यसैगरी मिसन ग्रासरुट अभियानको समीक्षा संगै केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयहरू पनि बैठकले अनुमोदन गर्ने , पार्टी केन्द्रले र प्रदेश कमिटीहरूले वार्षिक कार्ययोजना बनाउने एजेण्डा तय गरिएको छ ।

त्यसैगरि पार्ठी प्रवेश गरेका नवप्रवेशीहरूको व्यवस्थापन संगै कार्य विभाजन र समसाययिक राजनीतिक परिस्थितिको समिक्षा गर्ने र अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन गर्ने एजेण्डा एमालेले तय गरेको छ ।