आइतवार, जेष्ठ ६, २०८१

१५ दिन भित्र केवल र इन्टरनेटको अव्यवस्थित तार हटाउन महानगरको निर्देशन

 काठमाडौं वैशाख १५,
काठमाडौं महानगरले महानगरको सौन्दर्यताका साथै सफा, स्वच्छ र हराभरा वातावरणका लागि अव्यवस्थित आकाशे तार हटाउने कार्ययोजनाको कार्यान्वयन गर्ने भएको छ । यसअघि महानगरले गत वैशाख १२ गते एक सार्वजनिक सूचना प्रकाशित गरेर सरोकारवालाहरुलाइ १५ दिन भित्र अव्यवस्थित तार हटाउन निर्देशन दिएको छ ।

महानगरका प्रवक्ता नविन मानन्धरले पछिल्लो समय प्रयोग भएका वा नभएका असरल्ल र अव्यवस्थित केवल,इन्टरनेट तारका कारण महानगरको सौन्दर्यताका साथै सफा, स्वच्छ र हराभरा वातावरण समेत विग्रेको जनाउ सहित महानगरले तार हटाउने तयारी गरेको जानकारी दिनुभयो ।

 त्यस्तै प्रवक्ता मानन्धरले तोकिएको समयावधिमा अव्यवस्थित तार हटाउनको लागि पहिलो चरणमा सरोकारवाला संस्था, कम्पनीसँग छलफल सहित सहकार्यमा अभियान कार्यान्वयन गर्ने महानगरको योजना रहेको तर यसवीचमा तार हटाउन अटेरी गरेको अवस्थामा सूचना प्रकाशित भएको १६औ दिनबाट महानगर आफैंले वडा समिति मार्फत तार हटाउने योजना अघिबढाइने बताउनुभयो ।