सोमवार, जेष्ठ ७, २०८१

वरिष्ठ गायक भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको निधन

 काठमाडौं फागुन १४,

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधिबाट विभूषित आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो । अचानक अक्सिजनको मात्रा घटेपछि उपचार्थ अस्पताल लैजादै गर्दा वरिष्ठ गायक आचार्यको बाटोमै निधन भएको हो ।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिनुभएको छ । गायक आचार्यको पार्थिव शरीरलाई मङ्गलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले बताए । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशिल रहेका छन् ।

यसैवीच आजै भारतका चर्चित गजल गायक पंकज उदासको निधन भएको छ। ७२ वर्षीय उमेरमा गायक उदासको आज बिहान निधन भएको भारतीय सञ्चारमाध्य आजतकले जनाएको छ।

‘चिठी आयी है‘’ र ‘जिए तो जिये कैसे‘’ जस्ता धेरै प्रसिद्ध गीत र गजलका लागि परिचित छन्। उनले नाम, साजन र मोहरा लगायत धेरै हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाड्न सफल रहेका छन ।