सोमवार, जेष्ठ ७, २०८१

आवधिक निर्वाचनमा गठबन्धन गर्नु नहुने महामन्त्री थापाको प्रस्ताव

   काँग्रेस महासमिति ५ वटा प्रतिवेदन प्रस्तुत:

काठमाडौं फागुन ८,

नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्रमा आज पाँचवटा प्रतिवेदन पेस भएका छन् । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने प्रस्ताव गरेका छन् ।

त्यस्तै अर्का महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन पेस गर्दै आगामी चुनावमा कांग्रेसका मतदाताले अरुलाई भोट हाल्न नपर्ने सुनिश्चित गर्नुपर्ने प्रस्ताव गर्दै आवधिक निर्वाचनमा निर्वाचनपूर्वको गठबन्धन गर्नु नहुने प्रस्ताव गरेका छन् ।

प्रतिवेदनमा महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने संकल्प सहित मतदातालाई कांग्रेसको चुनाव चिह्न रुखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने महामन्त्री थापाले जिकिर गरेका छन ।

२० बुँदे सांगठनिक सुधारको कार्ययोजना सहित प्रस्तुत प्रतिवेदनमा महामन्त्री थापाले संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रुपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन ।

नेपाली कांग्रेसले यस विषयमा विशेष संकल्प गर्नु पर्नेमा जोड दिदै कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचनपछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्नेकुरा चुनावपछाडि स्वभाविक हुनसक्छ । तर निर्वाचनपूर्वको गठबन्धन गर्न नहुने  प्रतिवेदनमा उल्लेख गरिएको छ।