सोमवार, जेष्ठ ७, २०८१

महाधिवेशन प्रतिनिधिलाई महासमिति बैठकमा सहभागी गराउने कांग्रेसको निर्णय

 काठमाडौं फागुन ८,
नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रित रूपमा बैठकमा सहभागी गराउने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएकाहरूको हकमा यही फागुन ७ देखि १० का लागि आयोजित महासमिति बैठकमा सबै महाधिवेशन प्रतिनिधिलाई आमन्त्रित रूपमा सहभागी गराउने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवाको निवासमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति सदस्यको टुङ्गो लागिनसकेका बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नं १, दोलखा, ओखलढुङ्गा, काठमाडौं क्षेत्र नं ५, दाङ क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बागलुङ क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ जिल्ला तथा निर्वाचन क्षेत्रका हकमा सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी कांग्रेसको १४औँ महाधिवेशनपश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, नेपाल लोकतान्त्रिक खेलकूल सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल थारू सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ र नेपाल मुस्लिम सङ्घका हकमा अध्यक्षसहित तीन जना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरेको छ ।

त्यस्तै कांग्रेसको १४औँ महाधिवेशनपश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका शुभेच्छुक संस्थाहरू नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनका हकमा पनि अध्यक्षसहित तीन जना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरेको हो ।  यसअघि नेपाल प्रेस युनियनले त महासमिति बैठक पहकिष्कारको घोषण गर्दै विज्ञप्तिनै जारी गरेको थियो ।