सोमवार, जेष्ठ ७, २०८१

काँग्रेस महासमिति बैठक- गठबन्धनको औचित्यबारे टिप्पणी गर्ने बेला भएको छैन :सभापति देउवा

सांगठनिक प्रतिवेदन र हिन्दू राष्ट मागको पुरक प्रस्तावले बैठक तरंगित नेतृत्व थप सकसमा

काठमाडौ फागुन ७,
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ । निर्धारित समय भन्दा करिव एक घण्टा ढिला सुरु भएको बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो ।

महासमिति बैठकको उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले अहिले गठबन्धनको औचित्यबारे टिप्पणी गर्ने बेला नभएको भन्दै शासकीय स्वरुपबाहेक अरु विषयमा संविधान संशोधनका लागि छलफल गर्न सकिने बताउनुभएको छ ।

त्यस्तै सम्बोधनको क्रममा सभापति देउवाले सरकार निर्माणका लागि मात्रै गठबन्धन बनेको नभई केही समय पहिले प्रतिनिधिसभालाई विघटन गर्ने मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र संविधानलाई जोखिममा पार्ने गतिविधिकाविरुद्ध मुलुकलाई सम्बृद्धिको दिशामा अगाडि बढाउन गठबन्धनको अवधारणा कार्यान्वयनमा आएको बताउनुभयो ।

त्यस्तै उहाँले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भन्दै परिस्थिति अनुसार गठबन्धनको औचित्य सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्ने बताउँदै संविधानको रक्षा र सार्थक कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

चार दिनसम्म चल्ने बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी छन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्दै छन् भने अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पेस गर्ने कार्यसुची रहेको छ ।

स्मरण रहोस , बैठकमा प्रस्तुत हुने सांगठनिक प्रतिवेदनको सवालमा सिर्जित विवाद र बढ्दो दवावसंगै हिन्दू राष्टको  माग गर्दे बुझाएको पुरक प्रस्तावले बैठक तरंगित   र नेतृत्वमा थप सकसमा पर्ने प्रवल संभावना रहेको छ।