सोमवार, जेष्ठ ७, २०८१

आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाईदै

काठमाडौ फागुन ७,
आज फागुन ७ अर्थात ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाईदैछ। २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा शुरु भएको आन्दोलनको राप र तापका कारण् जहाँनियाँ राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरियो थियो ।

त्यसलगत्तै तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँने गरिएको हो ।

जनक्रान्तिको कारण नै राणाशासनको अन्त्य भइ प्रजातन्त्र घोषणा भएको सुखद अवसरमा फागुन ७ मा नेपाल सरकारले यस दिनलाई सार्वजनिक विदासमेत दिँदै आएको छ।  प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञोन्द्र शाह, राष्ट्रपति, उपराष्ट्रपति , प्रधानमन्त्री तथा ७४ औँ प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष ‘प्रचण्ड’ सभामुख, नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा लगायतले शुभकामना सन्देश जारी गर्नुभएको छ।