सोमवार, जेष्ठ ७, २०८१

सार्वजनिक जग्गा अपचलन गर्ने नगर विकास समितिका  अध्यक्ष सहितका पदाधिकारी विरुद्ध मुद्दा दायर

 काठमाडौं माघ २५,

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलाली जिल्ला, टीकापुर नगरपालिका १ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष  वितरण  गर्दै  जग्गा घोटाला गरेको अभियोगमा   २ सय ४९ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा बिहीवार मुद्दा दर्ता गरेको छ ।

आयोगका प्रवक्ता नरहरि रेग्मीले नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित पदाधिकारीले आपसी मिलेमतोमा नक्कली रसिद बनाएर सार्वजनिक जग्गा घडेरीका रूपमा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा उनिहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

 टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनुपर्ने व्यवस्था विपरित आर्थिक लाभकै कारण समितिको नाममा नक्कली कागजात खडा गरी जग्गा व्यक्तिको नाममा पुर्‍याएको आयोगले जनाएको छ ।

आयोगले मुद्धा दायर गरेका आरोपीहरुमा क्रमस तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार , धीजराज रेग्मी , तत्कालीन अध्यक्ष जोशीको बोर्ड बैठकको निर्णय बमोजिम गठित उपसमिति संयोजक गणेश सिंह रावल, खडक बहादुर शाह, बम बहादुर बम, श्याम खत्री, देवेन्द्र बहादुर कुँवर र पदमराज न्यौपाने, प्रेम सिंह बिक, श्याम खत्री, भरत स्वाँर, बेदराज ढुङ्गाना, दयाराम सञ्ज्याल, पुर्ण बहादुर बोगटी, अमर बहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्याल रहेको छन ।

त्यस्तैगरि टीकापुर विकास समितिका तत्कालीन योजना प्रमुख बल बहादुर कडायत, तत्कालीन योजना प्रमुख झप्पर सिंह विश्वकर्मा , तत्कालीन सदस्य सचिव अम्वादत्त जोशी ,नापी कार्यालयका नापी अधिकृत मान बहादुर चन्द, नापी अधिकृत गणेश बहादुर बम, मालपोत अधिकृत जय बहादुर विष्ट,नगर विकास समितिका खरीदार धनीराम भण्डारी,नगर विकास समितिका सव ओभरसियर नेत्र बहादुर रावल,तत्कालीन फिल्ड सुपरभाईजर देवीलाल घिमिरे विरूद्ध मुद्दा दायर गरेको हो। यस्तै आयोगले समितिको जग्गा आफ्नो नाममा बनाएका १०७ जना जग्गाधनीलाई समेत प्रतिवादी बनाएको छ ।