सोमवार, जेष्ठ ७, २०८१

धरहरामा नि:शुल्क पार्किङ बन्द नरहेको र बन्द नहुने महानगर प्रमुख बालेन्द्रको प्रष्टोक्ति

 काठमाडौ माघ २२

धरहरामा नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आक्रोश व्यक्त गरेका छन् ।

मेयर साहले आफ्नो फेसबुकमार्फत पत्रको प्रतिक्रिया दिँदै धरहरामा पार्किङ बन्द नरहेको र बन्द नहुने स्पष्ट पारेका छन् । ‘सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन,’ मेयर साहले भनेका छन्, ‘महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौ ।’

मेयर साहले २०७८ वैशाख ११ शनिबार अर्थात् आज भन्दा २ वर्ष ९ महिना अगाडि त्यस बेलाका प्रधानमन्त्री केपी ओलीले निर्माण पूरा नभएको धरहरा उद्‌घाटन गरिसकेको प्रसङ्ग निकाल्दै अहिले आएर ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नू’ भन्नु लाजको विषय भएको प्रतिक्रिया दिएका छन् ।

‘उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?रु’ प्रश्न गर्दै मेयरा साहले पार्किङ बन्द गर्न महानगरलाई पत्र लेख्नु भन्दा ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ रु’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्ने तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र लेख्नु उपयुक्त हुने बताएका छन् ।

उनले तोकिएको समयमा निर्माण भई नसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउनु पर्ने धारणा पनि राखेका छन् । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गर्न उनले आह्वान समेत गरेका छन् ।

मेयर साहले अहिले धेरैको नजर यहाँ धरहराको उक्त पार्किङको ठेक्का लिएर सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको बताउँदै महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने स्पष्ट पनि पारेका छन् । स्मरण रहोस,  महानगरले न्यूरोड आसपासको क्षेत्रमा रहेको अव्यवस्थित तथा अनियन्त्रित पार्किङ बन्दै गर्दै धरहरामा नि शुल्क पार्किङको व्यवस्थापन गर्दै आएको थियो ।