आइतवार, जेष्ठ ६, २०८१

प्रतिनिधि सभा, स्थानीय तह, र प्रदेश सभाको रिक्त पदको उपनिर्वाचनको तयारीमा आयोग

 काठमाडौँ माघ १८,

निर्वाचन आयोगले राष्टियसभाको निर्वाचन सकेलगत्तै स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको प्रारम्भिक तयारी थालेको छ ।

आयोगले निर्वाचन तयारीका लागि सरकारसँग परामर्श गर्ने तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो प्रवक्ता पौडेलका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल रिक्र २५ पदको उपनिर्वाचनको लागि नेपाल सरकारसँगको परामर्श पछि मिति तोकिने बताउनुभयो ।

स्मरण रहोस ,स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचन मार्फत पदपूर्ति गरिने बैधानिक व्यवस्था रहेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा प्रत्यक्षतर्फ निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने उल्लेख छ । त्यस्ते “प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको उपनिर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले घोषणा गर्ने र स्थानीय तहको हकमा आयोगसँगको परामर्शमा सरकारले मिति घोषणा गर्ने कानुनी व्यवस्था रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।