आइतवार, जेष्ठ ६, २०८१

एनसेलको शेयर खरिद-बिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

 काठमाडौं माघ १५ ,

एनसेलको सेयर खरिद-बिक्री छानबिन समितिले सरकारलाई आज आफ्नो प्रतिवेदन बुझाएको छ।   पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित ५ सदस्यीय समितिका संयोजक शर्माले सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो ।

मलेसियन टेलिकम कम्पनी एक्जियटा आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको आधिकारिकतामा प्रश्न उठेपछि सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न समिति गठन गरेको थियो ।

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान०का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य हुनुहुन्थ्यो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो ।