सोमवार, जेष्ठ १४, २०८१

संघीय संसदको माथिल्लो सदनमा १७ सिटसहित माओवादी केन्द्र बन्यो ठूलो दल

  काठमाडौं माघ ११ ,

आज सार्वजनिक मत परिणाम अनुसार संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ ।  राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि आज भएको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना राष्ट्रिय सभा सदस्य रहेका छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बन्न सफल भएको हो ।

त्यस्तै नेपाली काँग्रेसको तर्फबाट मौजुदा राष्ट्रिय सभामा १० सांसद सदस्य रहेको र यसमध्ये ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा आज निर्वाचित भएका १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो बनेको छ ।

 स्मरण रहोस, यहअघि राष्ट्रियसभाको पहिलो दल बन्दै आएको नेकपा एमाल आज सम्पन्न निर्वाचनको घोषित मतपरिणाम अनुसार तेस्रो दल बनेको छ । राष्ट्रिय सभामा १७ सिटको वर्चश्व कायम गर्दै आएको एमालेका ८ जना सासंद फागुन २० मा बिदा हुँदै गर्दा आजको निर्वाचन मार्फत राप्रपासँग तालमेल गरेर कोशीमा एक सिटमात्र जित्दै ७ सीट गुमाएसंगै आज निर्वाचित सहित १० सिटमा सिमित हुँदै एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको हो ।

 त्यस्तै नेकपा एसको ८ र जनता समाजवादी पार्टीको ३ र संसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाको राष्ट्रिय सभामा १/१ सिट रहेको छ । राष्ट्रिय सभाको मौजुदा संरचना अनुसार प्रदेशहरुबाट ८/८ जना निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था रहेको छ ।