सोमवार, जेष्ठ ७, २०८१

महानगर प्रमुख साहको अध्यक्षतामा सहिद सप्ताह-मुल समारोह समिति गठन

माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइने

 काठमाडौं माघ ८,

काठमाडौ महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउन महानगर प्रमुख प्रमुख बालेन्द्र साहको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

त्यस्तै गठित मूल समारोह समितिमा उपप्रमुख सुनिता डंगोल, वडा नं.१२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नं. ७ का अध्यक्ष बिमलकुमार होडा, वडा नं.१५ का अध्यक्ष एवं वित्त समितिका संयोजक ईश्वरमान डंगोल र वडा नं. २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारी सदस्य रहेका छन भने समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत रहेका छन ।

समितिले सहीद सप्ताह अन्तर्गत यस वर्ष पनि माघ १० देखि १६ गतेसम्म नागरिक स्वतन्त्रताका लागि राजनीतिक संघर्षका क्रममा विसं १९९७ सालमा पक्राउ परेका ४ सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दसहित विभिन्न समयका राजनीति आन्दोलनमा सहादत प्राप्त गर्ने योद्धाहरुको स्मरण तथा सम्मानमा सहिद सप्ताहका कार्यक्रम मनाउने निर्णय गरेको छ।

 शासकसामु माफी मागेर झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गरेका सहिदहरुको स्मृतिमा विसं २०१२ सालदेखि महानगरको संयोजकत्व गठित मूल समारोह समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।

सप्ताहको पहिलो दिन अर्थात् माघ १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा हुनेछ । यी स्थानहरुमा महानगरपालिकाले सहिदहरुको पूर्ण कदको सालिक निर्माण गरेको छ । यस्तै माघ १६ गते शान्तिबाटिकाबाट प्रभातफेरी सुरु गरेर लैनचौर सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरुको स्मृतिमा सभाको आयोजना गरिएको काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिनभएकोछ ।