सोमवार, जेष्ठ ७, २०८१

युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्री प्रचण्डको अन्तरक्रिया

काठमाडौं माघ ५,
असंलग्न राष्ट्रहरूको आन्दोलन [नाम] को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डा पुग्नुभएका प्रधानमन्त्री “प्रचण्ड”ले युगाण्डामा रहेका नेपालीहरूसँग भेटवार्ता गर्नुभएको छ।  भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो।

त्यस्तै प्रधानमन्त्रीले “युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले कुरा उठाउनुभएका कुरा महत्वपूर्ण रहेको जिकिर सहित विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताउनुभयो ।
साथै उहाँले विदेशमा रहेका नेपालीहरूका दुखकष्ट बुझ्ने अवसर पाएँको जनाउ सहित प्रधानमन्त्रीले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णयसंगै केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदुतहरू बोलाएर कुरा गरिएको त्यहाँस्थित नेपालीहरुलाइ जानकारी दिनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदुतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपील गर्नुभयो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताउनुभयो।

सो कार्यक्रममा गैरआवासीय संघका युगाण्डाका संरक्षक रमेश कंडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगाण्डामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउनुभएको थियो।

उक्त भेटघाटमा प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायत उपस्थित हुनुहुन्थ्यो।