आइतवार, जेष्ठ ६, २०८१

राष्ट्रिय सभा सदस्यको निर्वाचन: आज उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदै

 काठमाडौं पुस २३,

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ। उम्मेदवारी मनोनयन दर्ताका लागि आवश्यक सबै प्रक्रियागत तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै आयोगले सातै प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुने जानकारीदिदै आज दर्ता भएको उम्मेदवारी उपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र पुस २८मा उम्मेदवारलाई निर्वाचन चिह्न उपलब्ध गराउने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।

त्यस्तै राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा मतदान भने माघ ११ गते विहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ।