आइतवार, जेष्ठ ६, २०८१

राष्ट्रिय सभा सदस्य निर्वाचन:  सातै प्रदेशमा आयोगद्वारा निर्वाचन अधिकृत परिवर्तन

 काठमाडौं पुस १९,

निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नियुक्त भएका निर्वाचन अधिकृत परिवर्तन गरेको छ । आयोगले गत पुस १२ मा सात वटै प्रदेशका लागि निर्वाचन अधिकृतमा नियुक्त गरेका न्यायाधीश मध्ये बुधबार उच्च अदालतमा नियुक्त भएसँगै आयोगले यसअघिको निर्णय परिवर्तन गरेको हो ।

आयोगले यसअघि कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओम प्रसाद अर्याललाइ नियुक्त गरेको थियो ।

तर न्याय परिषद्को बुधवारको बैठकले सात प्रदेशमध्ये ६ प्रदेशका लागि नियुक्त निर्वाचन अधिकृतमा नियुक्त न्यायाधीशलाइ उच्च अदालतको न्यायाधीश पदमा नियुक्त गररेको र यसवीचमा बागमती प्रदेशको निर्वाचन अधिकृतमा नियुक्त महेन्द्र बहादुर कार्कीले पनि स्वास्थ्य समस्याका कारण निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ जनाएका कारण आयोगले सातै प्रदेशमा नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएका नव नियुक्त निर्वाचन अधिकृतमा क्रमस कोशी प्रदेशमा विष्णुप्रसाद गौतम, मधेश प्रदेशमा चित्रबहादुर गुरुङ, बागमती प्रदेशमा श्रीप्रसाद सन्जेल, गण्डकी प्रदेशमा ऋषिराज आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशमा मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद अवस्थी रहेको जानकारी दिएका छन ।