सोमवार, जेष्ठ ७, २०८१

आज भगवान राम र सीताबीचको वैवाहिक कार्यक्रम विवाह पञ्चमी महोत्सव मनाइदै

संस्कृतिको संरक्षण एवं संवर्द्धनसंगै सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुनसकोस: राष्ट्रपति

काठमाडौ पुस १,
आज मर्यादा पुरुषोतम भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा जनकपुरमा विवाह पञ्चमी पर्व मनाइदै छ । साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत जनकपुरमा आज मनाइने रामजानकी विवाह महोत्सवमा पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई हरेक वर्ष विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

विवाह पञ्चमी पर्वका लागि जनकपुर क्षेत्र सहित जनकपुरको प्रसिद्ध जानकी मन्दिर, जनक मन्दिर, गङ्गा सागरसहितको स्थानमा विशेष सरसफाइको गरिएको छ । विवाह पञ्चमी पर्व अन्र्तगत रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न भएको मानिन्छ । त्यस अवसरमा शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

विवाह पञ्चमी मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गर्ने गरिन्छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना सहित पर्वलाइ धुमधामकासाथ मनाउँने तयारी भइरहेको बुझिएको छ ।

यसअघि विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मङ्गलबार जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला , तेस्रो दिन बिहीबारका दिन ‘धनुष यज्ञ’ सम्पन्न गरिएको थियो । त्यस्तै चौथो दिन शुक्रबार तिल्कोत्सव र शनिबार मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गरिएको थियो । जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले आज छैटौँ दिन रङ्गभूमी मैदान बाह्रबिघामा सीतारामको विवाह सुसम्पन्न भएर भोलि पुस २ गते रामकलेवा अर्थात् जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन खुवाई बिदाइ गरी यस वर्षको महामहोत्सव कार्यक्रम समापन हुने जानकारी दिनुभयो ।

यसैवीच विवाह पञ्चमीको उपलक्ष्यमा आज राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताएका छन् । विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहँँले यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रपति पौडेल सन्देशमा त्रेतायुगमा भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना प्रकट गर्दै प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामनासंगै मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धन गरी सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन विवाह पञ्चमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।