सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आयोगमा १२ वटा राजनीतिक दल दर्ता

 काठमाडौं मंसिर ३०,
आसन्न राष्ट्रियसभा सदस्यको लागि आगामी माघ ११ मा हुने निर्वाचनमा १२ वटा राजनीतिक दलले भाग लिनका लागि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगले राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि सार्वजनिक निर्धारित मिति को समयसिमाभित्र १२ वटा राजनीतिक दलले दर्ता गराएको हो ।

आयोगका अनुसार दल दर्ता गर्ने राजनीतिक दलमा क्रमस नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी,नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी रहेको आयोगले जनाएको छ।

त्यस्तै आयोगले दल दर्ता गराएका राजनीतिक दललाइ पुस १ गते आइतवार चुनाव चिह्‍न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशित गर्ने जनाएको छ ।

स्मरण रहोस आगामी फागुन २० गते राष्ट्रियसभाका अध्यक्षसहित २० जनाको कार्यकाल सकिँदै छ । यसमध्ये १९ जनाको निर्वाचन प्रक्रियाबाट नयाँ सदस्य चयन हनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।