सोमवार, जेष्ठ ७, २०८१

महानगर र काठमाडौँ विश्वविद्यालयवीच नीतिगत सम्झौता

 काठमाडौँ मंसिर २६

सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले, काठमाडौँ विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको छ । मंसिर २५ गते भएको प्रमुख स्तरीय निर्णयअनुसार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको रोहवरमा आज शिक्षा अधिकारी सीताराम कोइराला र विश्वविद्यालय स्कूल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

महानगरपालिकाले चालु आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य हो । योजनामा टिचर कलेज कार्यक्रम समावेश छ । यो कार्यक्रममा शिक्षकहरुको क्षमता विकास तालिम उपलब्ध गराइनेछ । शिक्षकसँगै शैक्षिक गुणस्तर सुधारमा योगदान गर्न चाहने व्यक्तिहरु सहभागी हुन सक्नु हुनेछ । यसरी सञ्चालन हुने तालिममा दिइने प्रमाण पत्रलाई वृत्ति विकासका लागि योग्यता मानिनेछ ।

सम्झौताबमोजिम शिक्षामा सिप, पुस्तकरहित शुक्रबार तथा बाल सञ्जाल गठन तथा सशक्तिकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सिप विकास कार्यक्रम, शिक्षण सिकाइ पेडागोजीमा सुधार, विद्यार्थीको नतिजा सुधार र प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नतिका लागि सहकार्य हुनेछ । कार्यक्रम विश्वविद्यालयको स्कूल अफ एजुकेसनमार्फत कार्यान्वयनमा आउनेछ ।

टिचर कलेज कार्यक्रम महानगरपालिकाको नयाँ कार्यक्रम हो । यसमा विद्यालयका शिक्षक तथा सम्लग्न जनशक्तिको दक्षता बढाउन तालिम सञ्चालन हुनेछ । यसरी सञ्चालन भएका तालिमबाट प्राप्त गरेको अङ्कका आधारमा योग्यता निर्धाण हुनेछ । यसका लागि छोटो अवधिको पाठ््यक्रम तयार पारिनेछ ।

जनशक्तिको क्षमता विकासका क्षेत्र र आवश्यकता पहिचान गर्ने, पाठ््यक्रम र शिक्षण सिकाइ विधि तयार पार्ने स्कूल अफ एजुकेसनले गर्नेछ । यसका लागि आवश्यक पर्ने समय, जनशक्ति तथा अन्य प्रशासनिक खर्चको लागत अनुमान तयार पारेपछि कार्यक्रमगत सम्झौता हुने बताइएको छ।

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोल प्रमुख प्रशासकीय अधिकृत अधिकारीविश्वविद्यालयका उपकुलपति डा. थापा र विभागका प्रमुख कोइरालाले, सम्झौताको लक्ष्य सहित यसका विभिन्नआयामवारे आफ्नो धारणा राख्नु भएको थियो ।