सोमवार, जेष्ठ ७, २०८१

सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं मंसिर २३,
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस-२०८० का सन्दर्भमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै बहुआयामिक रूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन्।

त्यस्तै उहाँले सम्बोधनको क्रममा भ्रष्टाचार हुनुका कारण पहिचान गरी निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई परिचालित गरेको जनाउ सहित आफ्नो नेतृत्वको सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको बताउनुभएको छ।

साथै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयत्न र परिणाम पूर्ण छैनन्। आगामी दिनमा थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु रहेको जिकिर सहित यसका निम्ति समेत सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताउनुभयो ।

त्यस्तै भ्रष्टाचारका सबै स्वरूप र आयामलाई अपराधको रूपमा परिभाषित गरी दण्डनीय बनाउने, भ्रष्टाचारसम्बन्धी कसुरको सम्बन्धमा सुपुर्दगी, पारस्परिक कानुनी सहायता र भ्रष्टाचारजन्य कसुरबाट आर्जित सम्पत्ति फिर्ता गर्नेसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्था गरिएको जानकारी दिदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारलगायत अन्य गैरकानुनी ढङ्गबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी समेत हुँदै गरेको बताउनुभयो ।  कार्यक्रममा मुख्यसचिव डा.बैकुण्ठ अर्याल आयोगका कार्यवाहक प्रमुख आयुक्त किशोरकुमार सिलवाल लगायतले वोल्नु भएको थियो ।