सोमवार, जेष्ठ ७, २०८१

संसदीय सुनुवाइ समितिको बैठक: पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपाल अनुमोदित

काठमाडौं मंसिर २२,
संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालको नाम अनुमोदन गरेको छ । सरकारले पहिलोपटक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेयता गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गरेको हो ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिको आजको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिनुभयो ।

यसअघि संसदीय सुनुवाइ समितिको मिति २०८० मंसिर ८ गतेको बैठकले उजुरी माग गर्दा निजउपर एउटा उजुरी परेको थियो । आजको समितिको बैठकले शनिल नेपालको सम्बन्धमा प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई पोर्चुगलको राजदूतमा नियुक्तका लागि अनुमोदन गर्ने निर्णय गरिएको हो ।