सोमवार, जेष्ठ ७, २०८१

आज भगवान विष्णुको प्रतीक तुलसीको विशेष पूजाअर्चना गरि हरिबोधिनी एकादशी मनाइदैं

काठमाडौं मंसिर ७,
आज कार्तिक शुक्लपक्ष अर्थात भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी एवम् श्री विष्णुको विशेषअर्चना पूजा गरी हरिबोधिनी एकादशी मनाइदैँछ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिएको शास्त्रमा उल्लेख गरिएको छ ।

साथै हरिबोधनी एकादशीका दिन करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास रहिआएको छ।   विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यसैक्रममा उपत्यकाकाको चाँगुनारायण, शेष नारायण, इचँगुनारायण र विशङ्खु नारायणमा विशेष मेला भर्न भक्तजनको घुइचो लागेको हाम्रा सहकर्मीले जनाएको छ ।

यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । त्यस्तै हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारीएको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर फूल मालाले सजाएर तुलसीको  विवाह गरिदिने परम्परा समेत रहिआएको छ। त्यस्तै ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रत गर्दा हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको  पाइन्छ ।

  त्यस्तै  आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।